Mon - 24 May
Written by Pushpa Gurung
गोर्खा कपको अन्तिम तयारीका लागि तमु धीं यूकेको बैठक गत शनिबार २२ मे का दिन लण्डन स्थित हार्रोे लेजर सेन्टरमा सम्पन्न भयो। संस्थाका अध्यक्ष सुबसिङ गुरुङको सभापतित्वमा, सचिव ज्ञाम गुरुङले सञ्चालन गर्नुभएको सो बैठकमा संस्थाका खेलकूद सचिव तथा गोर्खा कपका संयोजक क्या. रि. बालकृष्ण गुरुङले गोर्खा कपको तयारी बारे विस्त्रित जानकारी गराउनु भयो।
बेलायतमा नेपालीहरुको जनसंख्या बढेकोले गत वर्ष भन्दा यस वर्ष गोर्खा कपमा टिम एन्ट्रीको चाप अपेक्षा गरिए भन्दा बढी भएको बताउँदै यसलाई आयोजक कमिटीले एउटा प्रोत्साहन (encouragement) को रूपमा लिई खेलाडीहरुको गोर्खा कप प्रतिको रुचीलाई ध्यानमा राखेर यस पालीको नाइन-ए-साइड फुट्बल खेलमा भेटरन तर्फ टिम संख्या 8 देखी 16 ,र ननभेटरन तर्फ ३२ देखि 48 सम्म बढाइएको जानकारी दिनुभयो।
उक्त बैठकमा पर्यवेक्षक, स्ञ्चारकर्मी, खेलाडीहरु तथा जनसाधारणको उपस्थितीमा गोर्खा कपको टिम ड्रव गरिएको थियो। बेलायतवासी नेपाली जनसमुदाय माझ एउटा कुम्भ मेला सरह लोकप्रियता कमाएको गोर्खा कप फूटबल हेर्न वर्षेनी हजारौँ मनिसहरु अल्डरशट स्थित क्वीन्स एभिन्युको मैदानमा उर्लने गर्छन्। गत वर्ष पन्द्र हजार (15,000) भन्दा बढी खेलप्रेमी दर्शकहरुलाई गोर्खा कपमा भेला गराउन सफल तमु धीं यूकेले यसपाली दर्शकहरुको संख्या अझ बढ्न सक्ने अनुमान लगाएको छ।