You are here: Home

धीं न्होंर बै ताँ – १४

E-mail Print PDF

छ्याजालो अनि नमस्कार,

न्यानो अभिवादन सहित धीं न्होंर बै ताँ को १४ औं अंकमा तपाईंलाई हार्दिक स्वागत गर्दछौं। तमु धीं यू केको आफ्नै वेबसाईट मा प्रकाशन हुने मासिक बुलेटिन धीं न्होंर बै ताँमा हामी सामान्यतय आफ्नै घर भित्रका बिभिन्न कार्यक्रम, बैठक तथा अन्य गतिविधीहरुको सँगालो तपाईं सामु पस्कने गर्दछौं। सँधै भरी उही बैठक र औपचारिक वा अनौपचारिक कार्यक्रमहरु बारेका कुराहरु मात्र पढ्दा कतै तपाईंलाई दिक्क लाग्यो कि? त्यसैले आज त बैठकका खबरहरु लाई एक छिन थाँती राखेर शुरुमा प्रसंग अर्कै कोट्याउन मन लाग्यो। किनकि तपाईंसँग यो वेबसाईटमा भेट्ने बानी परिसकेको छ। कताकता लाग्छ एउटा अनौठो साईनो गाँसिसकेको छ। हुन पनि यदि तपाईं म जस्तै प्रवासमा हुनुहुन्छ भने, नेपाली हुनु नै एक दरिलो साईनो हो, नाता हो। अझ तपाईं तमु हुनुहुन्छ भने, आफ्नै घर भित्रको पवित्र परिवारिक साईनो त छँदै छ।

तर तपाईं आफ्नो वरपरका सामाजिक बातावरणलाई नियालेर हेर्नोस त, हाम्रा अहिलेका युवा पिढिले के हाम्रो परम्परागत साईनो र रितीरिवाजलाई पछयाएका छन् त? मलाई त शंकै लाग्छ यस् बिषयमा। हाम्रा वरपर हाम्रा बालबालिकाहरुले बोल्ने बोलीचालीका भाषालाई नियालेर सुन्ने हो भने अब यस्तो लाग्छ, काका मामा, ठूलाबा  भन्ने साईनो लाई प्रतिस्थापन गरेको छ अंकलले, छ्यामा, फुपु, ठूलीआमा, काकी आदिको सट्टामा प्रयोग हुन्छ आन्टी, दाजु भाईको सट्टा ब्रो अनि दिदी बहिनिको सट्टा सिस। के यसो हुनुमा हाम्रा बालबालिका मात्र दोषी छन् त ? अंह हैन। यसमा आमाको सट्टामा ममी भन्न सिकाउने आमा र बाबा को सट्टा ड्याडी भन्न सिकाउने बुवा पनि उत्तिकै दोषी छन्। जसले गर्दा बेलायत वा बेलायत जस्तै मल्टी कल्चरल सोसायटीमा हुर्केका हाम्रा युवा पिढीले आधुनिकतामा रुमल्लियएर आफ्नो परम्परागत साईनो र मौलिक पहिचानलाई नबिर्सिएलान भन्न सकिन्न। तर यसो भन्दैमा निराश हुनु पर्ने स्थिती भने आइसकेको छैन। तमु धीं यूकेका हाम्रा केही युथहरु यस् मामिलामा सचेत छन्। त्यसैले भविष्यको बाटो देखाउने बाबु आमा, सुख दु:खमा साथ दिने दाजुभाइ, दिदी बहिनी तथा हाँसो ठट्टा गर्दै जिन्दगीको आनन्द बाँड्ने सोल्टि, सोल्टिनीको साईनोलाई दीगो राख्दै एक च्यारिटेबल प्रोग्रामको आयोजना गरी अवसरको खोजीमा रहेका बालबालिकाहरुको सहयोगका लागि अग्रसर भएका छन्, तमु धीं यूकेका हाम्रा युथहरु। बाँकी कुरा थाहा पाउन भित्र आउनुहोस्.....!

 

                                            धीं न्होंर बै ताँ १४

  • तमु धीं यूकेका युथहरुले सोल्टिनी नाइटको आयोजना गर्ने
  • तमु धीं यूकेको वर्षिक साधारण सभा सम्पन्न
  • अध्यक्षको डायरिबाट 
  • ए.जि.एम.को तयारीका लागि तमु धीं यूके, पाँचौ कार्यसमितीको बैठक सम्पन्न

तमु धीं यूकेका युथहरुले सोल्टिनी नाइटको आयोजना गर्ने  

तमु धी यू के का युथहरुले नेपाली नयाँ वर्ष २०६७ को उपलक्ष्यमा आगामी अप्रिल १० तारिक शनिबार प्रिन्सेस हल, अल्डरशोटमा सोल्टिनी नाइटको आयोजना गर्ने भएको छ।  तमु जातिको मौलिक परम्परा र संस्कृति अनुसार समाजमा प्रचलित सोल्टी सोल्टिनी, दाजु भाई  र दिदी बहिनी जस्ता साईनोहरुको अर्थ प्रष्ट्याउँदै युथहरुलाई एकै थलोमा भेला गरी, आफ्नो परम्परा र संस्कृति संरक्षण गर्न प्रोत्साहित गर्ने तथा नेपालमा रहेका तमु विद्यार्थीहरुको सहयोगार्थ रकम संकलन (Fund raising) गर्ने उद्देश्यले सोल्टिनी नाइटको आयोजना गर्न लागेको आयोजक युथहरु बताउँछन।

सो कार्यक्रम आयोजना गर्नका लागि युथहरुको १० सदस्यिय एक अर्गनाइजिङ टिम गठन गरिएको छ। उक्त टिममा प्रतिम गुरुङ, सौगात गुरुङ, ओमकार गुरुङ, प्रणय गुरुङ,आशिष  गुरुङ, अन्जु गुरुङ, अनिता गुरुङ, निशा गुरुङ, आशिक गुरुङ, सम्झना गुरुङ (TBC) लगायत रहेका छन। कार्यक्रमको तयारीका लागि अर्गनाइजिङ टिमको मिटिङ फेब्रुअरी २० तारिक, शनिवार मिचेट स्थित तमु भवनमा बसेको थियो।

समुन्नत तमु समाज सिर्जना गर्नका लागि भविष्यको कर्णधार, बालबालिकाको शिक्षामा जोड तथा भावी समाजको मेरुदण्ड युथहरुलाई सामाजिक बिकासको मूलधारमा ल्याउने तमु धीं यू के पाँचौं कार्यसमितीको लक्ष्य अनुरूप तमु युथहरुको सहभागिता अत्यन्त प्रशंशनीय रहेको छ। स्मरण रहोस् तमु युथहरुले गत वर्ष (२००९ मा ) तमु धीं यू के द्वारा पहिलो पटक आयोजित नेपाली मेलामा युथ कन्सर्टको आयोजना गरी मेलामा दर्शकहरुको मन जित्न सफल भएको थियो।

 

तमु धीं यूकेको वर्षिक साधारण सभा सम्पन्न   

तमु धी यू केको वार्षिक साधारण सभा फेब्रुअरी २० तारिक,शनिबार, मिचेट स्थित तमु नेपालिज कम्युनिटी सेन्टरमा सम्पन्न भयो। बिहान करिब साढे ११ बजे शुरु भएको सो कार्यक्रम संस्थाका अध्यक्ष सुबसिङ गुरुङले कलात्मक पानसमा दियो बाली समुदघाटन गरेका थिए। अध्यक्ष सुबसिङ गुरुङ्को सभापतित्वमा भएको सो कार्यक्रम महसचिव सुर्जे गुरुङ्ले सन्चालन गरेका थिए भने संस्थाका उपाध्यक्ष हरि गुरुङले सभामा उपस्थित सबैलाई स्वागत गरेका थिए।

कार्क्रममा संस्थाका सह  कोषाध्यक्ष कुमार गुरुङले हाल सम्मको तमु धीं यू के को सदस्यता संख्याको विवरण प्रस्तुत गरेका थिए। जस अनुसार फेमिली लाईफ मेम्बर संख्या २४१, सिंगल लाईफ मेम्बर ५१, मानार्थ फेमिली लाईफ मेम्बर ३, मानार्थ सिंगल लाईफ मेम्बर ७ र साधारण सदस्य २५ जना रहेको छ।

तमु धीं यू के एउटा च्यारिटी कमिसनमा दर्ता भएको संस्था भएकोले संस्थाले च्यारिटी कमिसनलाई समयमा रिपोर्ट बुझाउन पर्ने धारणा राख्दै ट्रस्टीजका तर्फबाट सल्लाहकार कमल गुरुङले एक प्रतिवेदन प्रस्तुत गरेका थिए। यसै गरी संस्थाका उपाध्यक्ष मुछेत्र गुरुङले कार पार्क निर्माण प्रगति बारे रिपोर्ट दिएका थिए।

वार्षिक साधारण सभामा संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्षले प्रस्तुत गर्नु पर्ने भएता पनि कोषाध्यक्ष दिलिप गुरुङ अनुपस्थित रहेको हुँदा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएन। यस सन्दर्भमा कार्यसमिती  र सल्लाहकार समितीका  केही सदस्यहरुले वार्षिक साधारण सभा (ए जि एम) मा संस्थाको आय ब्यय अनिवार्य रूपमा पारदर्शी ढंगले प्रस्तुत हुनु पर्नेमा त्यसो किन नभएको ? भनी रोश ब्यक्त गरेपछी संस्थाका अध्यक्ष सुबसिङ गुरुङले कोषाध्यक्ष दिलिप गुरुङ नेपाल जानुभएको र वहाँ उनका मामा बित्नुभएकोले वहाँ समयमा  नेपालबाट आउन असमर्थ हुनुभएको जानकारी दिदै यस् दु:खद घडीमा हार्दिक समवेदना ब्यक्त गर्दै मृतात्माको चीर शान्तीको कामना गरेका थिए।

महासचिव सुर्जे गुरुङ्ले सस्थाले बर्ष भरी गरेको कार्य को समिक्षा गर्दै आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए। यस् क्रममा उनले सन् २००० मा स्थापना भएको तमु धीं यू के ले यस वर्ष एक दशक पूरा गरेको र यो अवधिमा यसले युकेमा बसोबास गर्ने आम तमु समुदायको साझा कल्याणकारी र उपयोगी संस्थाको रुपमा आफुलाई स्थापित गर्न सफल हुनको साथै, यसले युकेका आम नेपाली समुदायको बिचमा पनि एक सशक्त, भरपर्दो र नेतृत्वदायी संस्थाको रुपमा आफ्नो चिनारी बनाएको कुरा बताएका थिए।

त्यस्पछि एकाइका चेयरम्यानहरुले बितेको एक बर्ष भित्र आ -आफ्ना एकाइले गरेका उपलब्धी र भावी योजना बारे प्रतिवेदन प्रस्तुत गरेका थिए। यस् क्रममा प्लमस्टेड एकाईका तर्फबाट भाइस चेयरम्यान हिरा गुरुङ्ले गर्दा त खुबै गरे जस्तो लागेको थियो तर भन्दा खेरी खास केही पाइएन भन्दै ठट्यौली पारामा आफ्नो रिपोर्ट प्रस्तुत गरेका थिए। प्लमस्टेड एकाइले केन्द्रले गरेका हरेक ठूला कार्यक्रमहरु जस्तै ल्होसार, समर बि बि क्यु वा नेपाली मेला, गोर्खा कप आदिमा सहयोग गर्दै आएको र यस् बाहेक आफ्नो एकाइले नविन परियार भन्ने ब्यक्तिलाई ११४० पाउन्ड चन्दा उठाई सहहोग गरेको जानकारी दिए।

लण्डन एकाइका चेयरम्यान चित्र बहादुर गुरुङ्ले आफ्नो एकाइ को ३ बर्षे कार्यकालमा केन्द्रमा आउन गाह्रो मानेका तमु सदस्यहरुलाई एक्बद्ध गर्न आफुहरु सफल भएको दावी गर्दै आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने क्रममा सम्पूर्ण तमुहरुको एकताका लागि राजनैतिक र ब्यक्तिगत स्वार्थलाई पछाडि राखी गुरुङको हितमा काम गर्न सबैलाई आव्हान गरेका थिए।

यसै गरी केन्ट एकाइका भाइस चेयरम्यान तथा तमु धी यू के का केन्द्रिय सचिव ज्ञाम गुरुङले एकाइ का तर्फ बाट प्रतिवेदन पेश गरेका थिए। चार भञ्ज्याङ एकाइ का तर्फ बाट रि ले चन्द्र गुरुङ्ले आफ्नै युनिक पहिचान भएको चार्भन्ज्याङ एकाइले केन्द्रिय तमु धी को अभिन्न अंग भई काम गर्दै आएको र यङ जेनेरेशनलाई पुर्ख्यौली बाटो देखाउन विभिन्न किसिमका कार्य गर्न का साथै यू के मा मात्र नभै नेपालमा पनि सहयोग गरेको कुरा बताए।

ह्यम्प्शायर एकाइका भाइस चेयरम्यान यादव गुरुङ्ले आफ्नो एकाइले केन्द्रिय तमु धी ले गरेका हरेक कार्यक्रम हरुमा सहभागि भई काम गर्न का साथै एकाइले १५ अक्टोबरमा तमु भवन मिचेटमा नार्कोननका डाइरेक्टर बसन्त कुँवरलाई आमन्त्रित गरी ड्रग अवेरनेस प्रोग्राम(ब्रिटिश अथोरिटी अनुसार Substance Misuse Programme) को आयोजना गरिएको जानकारी दिए। यसै गरी नेपाली नयाँ वर्ष को उपलक्ष्यमा युथ हरुका लागि बस्केट बल टुर्नामेन्ट (अप्रिल १० तारिक ) आयोजना गरिने जानकारी गराए। 

वोकिङ एकाइका चेयरम्यान धर्मराज गुरुङले ९ जनवरी २००९ मा स्थापित आफ्नो एकाइले १ वर्षको समयावधिमा गरेका उपलब्धीहरु उपर प्रकाश पार्दै तमु धी यू के दशौँ वार्षिक उत्सव मनाउनका लागि एकीकृत ल्होसार मनाउन तमु धीं केन्द्रलाई सबै एकाइ तथा तमु हरु मिली सहयोग गर्न आव्हान गरेका थिए। तमु धी ले शिक्षाविद  डा. हर्क गुरुङको सम्मानमा अवार्ड स्थापना गरी शिक्षा क्षेत्रमा तमु विद्यार्थीलाई प्रोत्साहित गर्नु सराहनिय भएको भन्दै हाम्रा गोर्खा भि सि का नाउँमा पनि अवार्ड स्थापना गरेर समाजमा राम्रो काम गरेका समाज सेवी वा आर्मीमा राम्रो काम गरेका ब्यक्तीलाई सो अवार्ड दिन सकिए राम्रो हुने थियो भनी एक प्रस्ताव राखेका थिए।

रेडिङ एकाइका चेयरम्यान ओमेन्द्र गुरुङले धेरै जसो प्रोग्राम रेडिङमै हुने हुनाले रेडिङ एकाइले तमु धी यू के को मेरुदन्डकै रूपमा काम गरिरहेको बताउंदै एकाइले आगामी ल्होसार केन्द्रसंगै मिलेर मनाउने कुरा बताए।

तमु धीं यू के का युथ ग्रुप पनि सभामा उपस्थित भएका थिए। सोल्टिनी नाइट अर्गनाइजिङ टिमका कोर्डिनेटर प्रतिम गुरुङ, ओमकार गुरुङ तथा अनिता गुरुङ्ले सोल्टिनी नाइटका लागि भइरहेको तयारी रिपोर्ट प्रस्तुत गरेका थिए। नेपाली नयाँ वर्षका उपलक्ष्यमा सोल्टिनी नाइटको आयोजना गर्नुको उदेश्य मनोरन्जन मात्र नभई नेपालमा रहेका तमु विद्यार्थीहरुका लागि फन्ड राइजिङ गर्ने रहेको कुरा अनिताले बताइन। कोर्डिनेटर प्रतिम गुरुङ्ले युथ फोर युथ भन्ने कन्सेप्ट संस्थाका अध्यक्ष सुबसिङ गुरुङ्ले धेरै अगाडि देखी उठाउनु भएको थियो भन्दै यस्मा आफुहरुले सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गरे। तमु संस्क्रिती अनुसार सोल्टी सोल्टिनी, अपा आमा, भुथे, जस्ता तमु साईनोहरुको अर्थ यङ जेनेरेशनले बुझ्नु पर्ने धारणा राख्दै ओमकार गुरुङले सोल्टिनी नाइटले परम्परा र संस्क्रिती संरक्षणमा टेवा पुर्‍याउने बताए। उनले उक्त कार्यक्रम पूर्णत युथको भए पनि अभिभावक वा एडल्टहरुलाई पनि स्वागत छ भने।

उक्त सभामा कार्यसमितीबाट पारित संस्थाको विधानको चौथो संशोधन प्रस्ताव अनुमोदनका लागि बिधान संशोधन मस्यौदा समितीका सहसंयोजक तथा सल्लाहकार भक्त गुरुङ्ले प्रस्तुत गरेका थिए। बिधानका केही बुँदाहरुमा ब्रिहत छलफल पश्चात विधानको चौथो संशोधन सभाले पारित् गरेको थियो। वार्षिक साधारण  सभामा वा विशेष साधारण सभामा उपस्थित सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ सदस्यहरुले प्रस्तवमा समर्थन जनाएमा सो संशोधन प्रस्ताव पारित भएको मानिने प्रावधान रहेको छ।

कार्यक्रमको अन्तमा अध्यक्ष सुबसिङ गुरुङले पाँचौ कार्यसमितीले बितेको १ वर्षमा आर्जेको ज्ञान र अनुभवलाई प्रयोग गरी बाँकी कार्यावधीमा संस्थाका लागि अझ प्रभावकारी ढंगले काम गर्ने वाचा गरेका थिए। यसका लागि यू के मा सबै तमुहरु एकै छाना मुनी बसी  एकिकृत ल्होसार मनाउन प्रयास गर्ने, संस्थाका लागि प्रभावकारी ढंगले Fund raise गर्ने, सदस्य संख्या व्रिद्धी गर्ने, प्लानिङ पर्मिसन पाइये पछि कार पार्क निर्माण पूरा गर्ने, भन्सा कोठा निर्माण गर्ने, युथहरुको Fund raising इभेन्टलाई सहयोग गर्दै अगाडि लाने आदी मूख्य कुराहरुमा पाँचौ कार्यसमिती केन्द्रित रहने जानकारी गराए। उनले साधारण सभामा उअस्थित सम्पूर्ण सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेका थिए। 

अध्यक्षको डायरिबाट

७ फेब्रुअरी २०१०: बेलायतका लागि नव नियुक्त नेपालका राजदूत महामहिम डा. सुरेश चन्द्र चालिसेको सम्मानार्थ NRNUK ले ईलिङ ब्रोडवेमा आयोजित कार्यक्रममा अध्यक्ष सम्मिलित।

२० फेब्रुअरी २०१०: तमु धी यू के को वार्षिक साधारण सभामा उपस्थित

२१ फेब्रुअरी २०१०: एन जे तेक्वान्डो एकाडेमीद्वारा लण्डनमा आयोजित पहिलो गोर्खा तेक्वान्डो च्याम्पिअन्शिपमा अतिथिका रूपमा उपस्थित।

२१ फेब्रुअरी २०१०: NPCC UK ले बेलायतका लागि नव नियुक्त नेपालका राजदूत महामहिम डा. सुरेश चन्द्र चालिसेको सम्मानार्थ आयोजित कार्यक्रममा अध्यक्ष सम्मिलित।

२७ फेब्रुअरी २०१०: लण्डन मा आयोजित नेपाली लाईभ ब्यान्ड कम्पिटिशनमा आतिथ्य ग्रहण

२८ फेब्रुअरी २०१०: गोर्खाज को पेन्सनको ममिलामा BGWS द्वारा फानबोरोमा आयोजित बैठकमा उपस्थित।  

 

ए.जि.एम.को तयारीका लागि तमु धीं यूके, पाँचौ कार्यसमितीको बैठक सम्पन्न  

वार्षिक साधारण सभाको तयारी तथा अन्य विविध बिषयमा छलफल तथा निर्णय गर्नका लागि तमु धीं यू के पाँचौं कार्य समितिको बैठक फेब्रुअरी ७ तारिक आइतबार, मिचेट स्थित तमु भवनमा बस्यो।

संस्थाका अध्यक्ष सुबसिङ गुरुङको सभापतित्वमा भएको सो बैठक संस्थाका महासचिव सूर्जे गुरुङले सञ्चालन गरेका थिए। बैठकमा विधान संशोधन मस्यौदा समितिका संयोजक तथा प्रमुख सल्लाहकार डा. सि. बि. गुरुङले प्रस्तुत गरेको विधानको चौथो संशोधन मस्यौदा प्रस्ताव उपर ब्रिहत छलफल गरेपछि कार्यसमितीबाट पारित् गरिएको थियो।

यसै गरी तमु धी यूकेको दशौँ वार्षिक उत्सवका उपलक्ष्यमा अर्को ल्होसार सेलेब्रेशन कार्यक्रम पुष पन्द्र कै दिनमा आगामी ३० डिसेम्बर २०१० मा वेम्ब्ली एरिना (Wembley Arena) मा भब्यतासाथ मनाउने निर्णय बैठकले गर्‍यो। भावी पुस्तालाई पुष पन्द्रको महत्व दर्शाउन र एउटा निश्चित बाटो देखाउनका लागि पुष पन्द्रकै दिन ल्होसार मनाउन पर्ने डा. सि बि गुरुङ्को धारणा प्रति अधिकांश सदस्यहरुले समर्थन जनाएका थिए। तमु धी यूकेको दशौं वार्षिक उत्सव धूमधामसँग मनाउन आगामी ल्होसार, सबै एकाइले केन्द्र सँगै मिली मनाउने निर्णय गरिएको थियो। उक्त अवसरमा तमु एकताका लागि एकीकृत ल्होसार मनाउन तमु धी यूकेले अन्य तमु समाज तथा संस्थाहरुसँग पहल गर्नु पर्ने कुरामा सबै सहमत भएका थिए।

उक्त विशेष ल्होसार कार्यक्रमका लागि कार्यसमितिका सदस्य रि. ले. चन्द्र गुरुङलाई संयोजक नियुक्त गरिएको थियो। आफुलाई आगामी ल्होसार कार्यक्रमका लागि संयोजक बन्न सक्षम ठानी अवसर प्रदान गरेकोमा आभार ब्यक्त गर्दै उनले संस्थाको दशौं एनिभर्सरीका अवसरमा मनाइने ल्होसार कार्यक्रम स्पेशल हुनपर्ने धारणा राख्दै यसलाई सफल पार्न आफुलाई कार्यसमितिका सदस्यहरुका साथै भूतपूर्व अध्यक्षहरु तथा सल्लाहकारहरु सबैको पूर्ण सहयोग आवश्यक पर्ने कुरा बताए।

संस्थाको मुखपत्रका रूपमा प्रकाशन हुने फ्रेंसी पत्रिका प्रकाशन ढिलो भएकोमा कार्यसमितिका केही सदस्य र सल्लहकारहरुले आपत्ति जनाएका थिए। बैठकमा फेब्रुअरी २० तारिक हुने वार्षिक साधारण सभाका लागि संस्थाका महासचिव सूर्जे गुरुङलाई संयोजकको जिम्म्मेवारी दिइएको थियो। अध्यक्ष सुबसिङ गुरुङले ए. जि. एम. को कार्यक्रमबारे रूपरेखा प्रस्तुत गरेका थिए। यसै गरी तमु धी यूकेको युथ विङले आगामी नेपाली नयाँ वर्श २०६७ का उपलक्ष्यमा १० अप्रिल २०१० मा  सोल्टिनी नाइटको आयोजना गर्ने प्रस्ताव सर्वसम्मतिले पारित् गरिएको थियो।

अध्यक्ष सुबसिङ गुरुङ्ले गत वर्ष १२ डिसेम्बर २००९ मा तमु प्रतिस्ठानको सहयोगका लागि संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङ्को संयोजकत्वमा सम्पन्न च्यारिटी डिनर कार्यक्रमबाट £३२१६ र नेपाली रू ५००,००० रकम उठाउन सफल हुनुभएकोमा संस्थापक अध्यक्ष तथा सल्लाहकार मिन प्रसाद गुरुङ तथा कोओर्डिनेटिङ टिमलाई धन्यवाद ज्ञापन गरेका थिए। साथै गएको ल्होसार कार्यक्रममा उदार ह्रिदयले £५००० संस्थालाई चन्दा दिई सहयोग गर्ने बिजेनेस टाइकून श्री शेष घले र श्रीमती शेष घले प्रति अभार ब्यक्त गर्दै वहाँहरुलाई आमन्त्रण गर्न पहल गर्नुहुने संस्थाका सल्लाहकार एकेन्द्र गुरुङ तथा ह्यम्पशायर एकाइका चेयरम्यान नन्दजङ गुरुङलाई अध्यक्षले धन्यवाद ज्ञापन गरेका थिए।

संस्थाका सल्लाहकार ईन्स्पेक्टर खेम बहादुर गुरुङ्ले तमु धी पाँचौं कार्यसमितीले एउटा नयाँ फूटप्रिन्ट छोड्न पर्‍यो भन्दै अब उपरान्त बैठकमा सके सम्म गुरुङ भाषा बोल्ने वा स्वागत भाषण भए पनि गुरुङ भाषामा गरेर तमु भाषालाई ब्यवहारमा प्रयोग गरेर  भाषा संरक्षणमा जोड दिन पर्ने  सुझाव राखेका थिए।

तमु धी नेपालको सहयोगका लागि तमु धीका केही सदस्य, सल्लहाकार तथा शुभचिन्तकहरुद्वारा संकलन गरेको रकम तमु धी यूकेका नाम बाट तमु धी नेपाललाई हस्तान्तरण गर्ने वा नगर्ने ? भन्ने बिषयमा ब्रिहत छलफल गरिएको थियो। TDUK एक स्वतन्त्र संस्था भएकोले यसको प्रतिस्ठामा आँच आउने काम गर्न नहुने भनी केही सदस्य तथा सल्लाहकारले आपत्ति जनाए पछि संस्थाले तमु धी नेपाललाई आर्थिक सहयोग गर्ने ममिलामा असंलग्न रहने निर्णय बैठकले गर्‍यो।

TDUK का तर्फ बाट हाइटीका भूकम्प पीडितका लागि चन्दा संकलन कार्यका लागी जिम्मा लिएका डा.सि.बि. गुरुङ्ले आफु नेपाल जाने भएकोले सो रकम संकलनको जिम्मा सल्लाहकार ए बि गुरुङ्लाई सुम्पेका थिए।

उक्त दिन बैठकका सहभागिहरुलाई खानाको लागि मासु र दाल उपलब्ध गराएकोमा सल्लाहकार ए बि गुरुङ लाई महसचिव सूर्जे गुरुङ्ले धन्यवाद दिएका थिए।

 

 

Comments (0)Add Comment

Write comment
You must be logged in to post a comment. Please register if you do not have an account yet.

busy