You are here: Home

धीं न्होंर बै ताँ - १७ (गोर्खा कप विशेषांक).

E-mail Print PDF

छ्याजालो अनि नमस्कार!


“धीं न्होंर बै ताँ” को गोर्खा कप विशेषांकमा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। यति खेर बेलायतमा जतततै वर्ल्ड कप फूटबल को ज्वरो चढेको बेला बेलायतवासी नेपालीहरु माझ गोर्खा कप फूटबलको लोकप्रियता पनि उत्तिकै बढेको देखिन्छ।

तमु धीं यूके एक जातीय संस्था भए पनि आफ्नो जातीय परम्परा र संस्कृतिको संरक्षण गर्दै यसले बेलायतवासी सम्पूर्ण  नेपालीहरुको हितलाई सर्वोपरी ठान्दै नेपाली यूवाहरुको जोश जाँगर र शीप, खेलकूदमा लगाई उनिहरुको फूटबल खेल कौशलको बिकास गर्न र समाजमा आपसी सदभाव, मैत्री र सहिष्णुताको भावना अभिव्रिद्धी गर्नका लागि वर्षेनी गोर्खा कप स्ञ्चालन गर्दै आएको छ।

फूट्बल खेलाडिहरुका लागि हजारौँ दर्शकहरु सामु आफ्नो खेल कौशल प्रदर्शन गरी अनुभव बटुल्ने एक सुनौलो अवसर बन्न पुगेको गोर्खा कप भर्खरै अल्डरशटमा सम्पन्न भएको छ। खेलाडिहरु मात्र नभई बालबालिका र यूवा यूवती देखी व्रिद्धव्रिद्धा सम्म सबै उमेरका मनिसहरुको लागि भेटघाटको थलो बनेको छ गोर्खा कप।

लामो हिउँदे याम (विन्टर सिजन) देखी आत्तिएका बेलायतवासी नेपालीहरुका लागि यो एउटा पर्व समान भएको छ। यस्तो बहुचर्चित ईभेन्ट सञ्चालन गर्नु कुनै सजिलो काम भने पक्कै होइन। यद्यपी "तँ चिता म पुर्‍याउँछु" भन्ने नेपाली उखानलाई चरितार्थ पार्दै तमु धीं यूकेको यस् वर्षको गोर्खा कपलाई मौसमले पनि शत प्रतिशत साथ दिएर कार्यक्रम अपेक्षाकृत रूपमा सफल भएकोमा तमु धीं यूकेका कार्यकर्ताहरु अत्यन्त हर्षित छन।

यथार्थमा तमु धीं यूकेका बिभिन्न एकाइ देखी केन्द्र सम्मका पदाधिकारी, सदस्यहरु र सल्लाहकारहरु देखी युथ सम्म सबै एकजूट भई माहुरीको चाकामा ज्यामी माहुरीले झैँ काम गरे पछि हरेक कार्यक्रम सफल हुन्छ भन्ने कुरा प्रमाणित गरेको छ तमु धीं यूकेले। गोर्खा कप बारे सार संक्षेप समाचार थाहा पाउन पढ्नुहोस् गोर्खा कप विशेषांक, “धीं न्होंर बै ताँ” को १७ औं अंक।

 

धेरै अघी देखी नै गोर्खा कपको तयारी बारे हरेक बैठकमा सामान्य छलफल भएता पनि औपचारिक रूपमा गोर्खा कप तयारीका लागि महत्वपूर्ण दुईवटा बैठक बसेको थियो।


• गोर्खा कपको तयारी बैठक र प्रेस कन्फरेन्स
• गोर्खा कप  अन्तिम तयारी मिटिङ तथा लण्डन एकाइ द्वारा अन्तर समाज लोकन्रित्त्य प्रतियोगिता
• गोर्खा कप २०१० भव्यतासाथ सम्पन्न।

गोर्खा कपको तयारी बैठक र प्रेस कन्फरेन्स

 
गोर्खा कप तयारी नै मूल एजेन्डा राखी गत मे ८ तारिक शनिबार अल्डर्शट स्थित निर्माया रोधीघरमा संस्थाको बैठक तथा प्रेस कन्फरेन्स सम्पन्न भएको थियो। प्रेस कन्फरेन्समा गोर्खा कप संयोजक क्या. रि. बालकृष्ण गुरुङले यस वर्ष खेलाइने ९ ए-साइड फूटबल टुर्नामेन्टमा भेटरन तर्फ ८ टिम र नन-भेटरन तर्फ ३२ टिम गरी जम्मा ४० टिम खेलाइने जानकारी दिएका थिए। उनले टिम दर्ता शुल्क २०० पाउन्ड राखिएको र दर्ता फर्म शुक्रबार १४ तारिक दिनको १२ बजे देखी खुल्ने जानकारी समेत दिएका थिए।

गोर्खा कप अन्तिम तयारी मिटिङ तथा लण्डन एकाइ द्वारा अन्तर समाज लोकन्रित्त्य प्रतियोगिता

गोर्खा कप तयारीका लागि अन्तिम मिटिङ तथा बुद्ध जयन्तीको उपलक्ष्यमा तमु धी यूके लण्डन एकाइ द्वारा आयोजित अन्तर समाज लोक न्रित्य प्रतियोगिता एकै दिन शनिबार  २२ मेमा लण्डनको हारो लेजर सेन्टरमा सम्पन्न भएको थियो। बिहान ११ बजे देखी लामा धर्म गुरुहरुद्वारा पूजापाठ आरम्भ गरिएको थियो भने बेलुकी ६ बजे देखी लोक न्रित्य प्रतियोगिता राखिएको थियो।

सोही हलमा तमु धी यूके केन्द्रको बैठक अपरान्ह १ बजे देखी बसेको थियो। खेलाडीहरु, सञ्चारकर्मी, पर्यवेक्षक तथा जनसाधारणको उपस्थितीमा गोर्खा कप टिम ड्रव गरिएको थियो। गोर्खा कपको तयारी बारे एक रिपोर्ट प्रस्तुत गर्दै संयोजक बालकृष्ण गुरुङले कार्यसमितिका सदस्यहरु तथा सल्लाहकारहरुमा कार्यविभाजन गरेका थिए। अघिल्लो बैठकमा जम्मा ४० वटा टिम खेलाइने भनिएता पनि खेलाडीहरुको रुची र टिम एन्ट्रीको अत्यधिक चापले गर्दा आयोजक कमिटीले टिम एन्ट्री संख्या बढाएर भेटरन तर्फ १६ र नन-भेटरन तर्फ ४८ टिम गरी जम्मा ६४ टिम खेलाउने खोषणा गरेको थियो।  लगभग चार घण्टा लामो मिटिङ सकिए पछि सबैजना ले दोश्रो अन्तर समाज लोक न्रित्य प्रतियोगिताको भरपूर आनन्द लिएका थिए।

 
नेपाली लोक न्रित्य र संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने, नेपाली पहिचानलाई मुलुक बहिर परिचित गराउने, बेलायतमा रहेका सम्पूर्ण नेपाली समाज र संघ संस्थाहरु बिच पारस्परिक संबन्धलाई सुमधुर एवं प्रगाढ बनाउने र नेपाली नवोदित कलाकारहरुमा भएको न्रित्य प्रतिभालाई प्रदर्शन र बिकास गर्ने उद्देश्यले तमु धीं यूके लण्डन एकाइले बुद्ध जयन्तीको अवसर पारी लोक न्रित्य प्रतियोगिताको आयोजना गरेको थियो। प्रतियोगितामा प्रथम हुने टिमले प्रथम हुने टिमले ५०० पाउन्ड को नगद पुरस्कार प्राप्त गर्नका साथै गोर्खा कप २०१० मा पनि न्रित्य प्रदर्शन गर्ने निर्णय तमु धीं यूकेले गरेको हुँदा गोर्खा कप संयोजक बालकृष्ण गुरुङ लगायत अन्य सदस्यहरु कुन टिम विजयी हुने हो भनी आ-आफ्नै तर्फबाट मुल्याङ्कन र अनुमान लगाउँदै नाचको आनन्द लीइरहेका थिए।


बिभिन्न समाजका ७ वटा  न्रित्य समूहहरुले भाग लिएको सो प्रतियोगितामा गोर्खा जिल्ला तमु समाजको न्रित्य टिमले प्रथम स्थान हासिल गरी ५०० पाउन्डको नगद पुरस्कार तथा शिल्ड सहित गोर्खा कपको मैदानमा फेरी न्रित्य प्रस्तुत गर्ने अवसर हात पार्न सफल भएको थियो। यसै गरी दोश्रो स्थान चार भञ्ज्याङ तमु समाजले र तेश्रो स्थान पायुँखोला तमु समाजले प्राप्त गरेका थिए। 

गोर्खा कप २०१० भव्यतासाथ सम्पन्न

तमु धीं यूके द्वारा आयोजित गोर्खा कप २०१०, ९ ए-साइड फूटबल टुर्नामेन्ट गत आईतवार ३० मे मा क्वीन्स एभेन्यू, अल्डरशट स्थित आर्मी फूटबल मैदानमा भव्यतासाथ सम्पन्न भयो। भेटरन तर्फ १६ र नन भेटरन तर्फ ४८ गरी जम्मा ६४ वटा टिमलाई लिग कम् नक आउटको आधारमा खेलाईएको खेल नौ वटा पिचमा एकै चोटि खेलाइएको थियो। संस्थाका अध्यक्ष सुबसिङ गुरुङ्ले उदघाटन गरे पछि बिहान करिब ०९:४० बजे खेल प्ररम्भ भएको थियो।

भेटरन तर्फको रोमान्चकारि फाईनल खेलमा 2GR लाई शुन्य का विरुद्ध २ गोलले पराजित गर्दै धरान समाज यू के विजयी भएको थियो भने नन भेटरन तर्फको फाईनल खेलमा सहारा एफ सि यूके 'ए ' र मंगोलिअन भान्जाजको बिचमा ज्यादै प्रतिस्पर्धात्मक खेल भएको थियो। शुरुमा १-१ गोल ले ड्रव भए पछि अतिरिक्त समय खेलाईंदा पनि दुवै टिमले २-२ गोल ल्याइ ड्रव भएपछि, पेनाल्टी शुटमा मंगोलिअन भान्जाजले सहारा एफ सि यूके 'ए' लाई ३ का विरुद्ध ४ गोलले पराजित गरेको थियो। उक्त खेलमा म्यान अफ द म्याचको उपाधि, धरान समाज यूकेका भक्त लिम्बुले प्राप्त गरेका थिए भने भेटरन समुहको टप स्कोरर धरान समाज यूके कै सूर्य बिक्रम राइ भएका थिए। यसै गरी नन भेटरन तर्फ उत्कृष्ट खेलाडी (Best player) को उपाधि मंगोलिअन भान्जाजका बिमल शेरचनले हात परेका थिए भने टप स्कोरर बनेका थिए, सहारा एफ सि यूके 'ए' का युगल राइ। 

नन-भेटरन तर्फ, प्रथम हुने टिमले ७०० पाउन्ड नगद, २ केस सफ्ट ड्रिन्क्स, ठूलो सिल्भर कप, प्रमाणपत्र र ट्रफी तथा द्वित्तिय हुने टिमले ३०० पाउन्ड नगद, एक केस सफ्ट ड्रिन्क्स, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका थिए।

यसैगरी  भेटरन तर्फ प्रथम हुने टिमले २०० पाउन्ड नगद, सिल्भर कप, ट्रफी र प्रमाणपत्र प्राप्त गरे भने दोश्रो हुने टिमले १०० पाउन्ड नगद पुरस्कार ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका थिए। ट्रफी नेपाली राजदूत डा. चालिसे ले प्रदान गरेका थिए भने नगद पुरस्कार (चेक), र ठूलो सिल्वर कलरको कप ग्रीसका पूर्व राजाले प्रदान गरेका थिए। यसै गरी भेटरन तर्फको विजयी टिमलाई तमु धींका अध्यक्ष सुबसिङ गुरुङ र अल्डरशट फूटबल क्लबका director ले पुरस्कार प्रदान गरेका थिए।

कार्यक्रम मा बेलायतका लागि नेपाली राजदूत डा. सुरेश चन्द्र चालिसे प्रमुख अतिथी तथा ग्रीसका भूतपूर्व राजा कन्स्टन्टिन द्वित्तिय बिशेष अतिथीका रूपमा आमन्त्रण गरिएको थियो। उनको साथमा उनको कान्छा छोरा फिलिपोसको पनि उपस्थिती रहेको थियो। सन १९६० को ओलम्पिक्समा सैलिङ तर्फ गोल्ड मेडल जितेका ग्रीसका पूर्व राजा, इन्टरन्यासनल ओलम्पिक कमिटिका मानार्थ सदस्य समेत हुन।

अन्य अतिथिहरुमा, अल्डरशट एफ. सि. का Director (Supporters Club Representative) Keith Able, Mark Manyad of Aldershot Town FC, लण्डन बोरो अफ मेर्टोनका काउन्सिलर गम बहादुर गुरुङ, स्थानिय निकायका प्रतिनिधिहरु, नेपाली सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, ब्यापारी, बुद्धिजिवी तथा बिभिन्न नेपाली मिडियाका प्रतिनिधिहरु थिए।

खेलको गुणस्तर देखी लिएर ब्यवस्थापना पक्ष सम्म सबै दृष्टि्ले सुधार गरिएको यस वर्षको गोर्खा कप को थप आकर्षण प्याराजम्प डिस्प्ले रहेको थियो।  भेटरन र नन भेटरन दुवै समुहका विनरका लागि प्रदान गर्ने भनिएको क्रमश: १४.२५" र २०.५" अग्लो दुई वटा सिल्भर कप प्याराशुटबाट भुईंमा अवतरण गरी ल्याइए पछि ग्रीसका पूर्व राजाले उपहार स्वरुप तमु धीं यूकेका अध्यक्ष सुबसिङ गुरुङलाई हस्तान्तरण गरेको दृष्य अत्यन्त  रोमान्चकारी थियो।

फाइनल खेल हुन अगाडि प्रस्तुत गरिएको गोर्खा जिल्ला तमु समाजका कलाकारहरु द्वारा प्रस्तुत लोक न्रित्यले सबैको मन जितेको थियो। कार्यक्रमको अन्त्यमा पुरस्कार वितरण समारोहमा गोर्खा कप संयोजक क्या रि बालकृष्ण गुरुङले खेलकूदका क्षेत्रमा नेपाली युवाहरुको खेल प्रतिभा निखार्न र दक्षता बढाउन सो कार्यक्रम आयोजना गरिएको बताएका थिए। आ-आफ्नो मन्तब्यका क्रममा प्रमुख अतिथि राज्दूत डा. चालिसे, बिशेष अतिथी ग्रीसका पूर्व राजा कन्स्टन्टिन द्वित्तिय तथा संस्थाका अध्यक्ष सुबसिङ गुरुङ्ले यस्तो प्रतियोगिताले युवाहरुको प्रतिभा प्रस्फुटित गरी उनिहरुको शीप र दक्षता अभिव्रिद्धी गर्नका साथै समाजमा आपसी सद्भाव बढाउने कुरा बताए। जम्मा ६४ टिम ले भाग लिएको यस पालीको गोर्खा कपमा बेल्जियमबाट एउटा टिम सहभागी भएको थियो। हङकङबाट पनि एउटा टिम ले भाग लिने भनिए तापनि भिसाको कारण ले आउन सकेनन।

कार्यक्रममा तमु धीं यूकेका सात वटै एकाइहरुले बिभिन्न नेपाली खाना, केन्द्रले ड्रिन्क्स, युथ टिमले चटपटे स्टल राखेका थिए भने अन्य संघ संस्था तथा उद्योग ब्यवसाय संबन्धी जानकारीमूलक स्टलहरु पनि राखिएका थिए।  विगतका अनुभवहरुलाई समेट्दै तमु धीं यूकेले कार्यक्रम को ब्यवस्थापन र कार्यन्वयन पक्षमा विशेष ध्यान दिएको थियो। सौचालयको संख्या गत वर्षको भन्दा दोब्बर बढाइए पनि दर्शकहरुको संख्या बढेकोले टोइलेट अझ अपर्याप्त भएको देखिन्थ्यो।

कार्यक्रममा कुनै अप्रिय घटना घट्न नदिन तमु धीं यू के का  सेक्युरिटी टिम र प्रहरीहरु खटिएका थिए। कुनै दुर्घटना वा चोट पटक लागेमा प्रथमिक उपचारका लागि पारामेडिक, एम्बुलेन्स, तथा भोलुन्टियर डाक्टर र नर्सहरुको ब्यवस्था पनि गरिएको थियो। सेक्युरिटी टिम र प्रहरीको कडा निगरानीका बावजूद पनि चौरको उत्तर पुर्वी कुनातिर केही उश्रिंखल यूवाहरु बिच   झगडा हुन गएको थियो। समयमै प्रहरी र सेक्युरिटी टिमले घट्नालाई नियन्त्रणमा लिई छानबिन प्रकृया अगाडि बढाईएको थियो। घट्नामा घाइते भएका २ युवकलाई उपचारका लागि तुरुन्त अस्पातल पुर्याईएको थियो।

बिसौं हजार मनिस भेला हुने यस्ता ठूला कार्यक्रमहरुमा यूवा हरु बिच हुने झै-झगडाका घट्नाहरु नौलो होइन। यद्यपी यूवाहरुकै हितका लागि आयोजित कार्यक्रममा अधिकांश यूवाहरु अत्यन्त अनुशासित र उत्साहजनक ढंगले साकारात्मक बाटो हिंडीरहेको बेला केही औँलामा गन्न सकिने उश्रिंखल यूवाहरुले गलत बाटोमा लागेको घट्ना लाई बेवास्ता गर्न भने मिल्दैन। त्यसैले वीर गोर्खालीका रूपमा चिनिएका नेपालीहरुको बहादुर र इमान्दार पुर्खाले आर्जेको मान र शानलाई जोगाउन सबै नेपाली अभिभावक, समाज र संघ संस्थाहरु सचेत भई स्वच्छ समाज निर्माणमा एक भएर लाग्न पर्ने देखिन्छ।

 

Comments (0)Add Comment

Write comment
You must be logged in to post a comment. Please register if you do not have an account yet.

busy